इटहरी ४ निवासी दिलकुमार मगर(श्रेष्ठ)लाई १४ बर्षअघि दुई छाक टार्न धौंधौं पर्ने गर्दथियो । कसरी बिहान बेलुकाको गर्जो टार्ने भनेर उनि दिनहुजसो के गर्ने नगर्ने अलमलमा पर्ने गर्दथिइ्न । जव उनि आफुलाई परेको समस्या हल गर्नका लागि भौतारिदै हिड्न थालिन त्यही बीचमा इटहरीमा महिलाहरुले मात्र संचालन गरेको नेपालकै नमूना सहकारी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुगिन् । दुःखले कमाएको केही रुपियाँ लिएर पुगेकी उनी ०५८ साल असोजमा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य बन्न सफल भइन् । सदस्य भएर नियमित बचत गर्न थालेको ६ महिनापछि उनलाई सहकारीबाटै सानो ऋण लिएर केही व्यवसाय गर्ने सोच पलायो । उनले सुरुमा ५ हजार रुपियाँ ऋण लिएर सुगुरका पाठा खरिद गरि पालन गर्न थालिन् ।
५ वटा पाठा खरिद गरेकी उनले पालेको ४ महिनामा ३३ सय प्रतिगोटा बिक्री गरि १६ हजार ५ सय रुपियाँ आम्दानी गरिन्। त्यसपछि उनले ऋण थप गरि गाई पालन गरिन् । गाई पालनबाट दुग्ध र बाच्छा बाच्छी बिक्री गरेर राम्रो आम्दानी गरिन् । त्यही आम्दानीबाट घर व्यवहार टार्नुका साथै छोरा छोरीलाई स्कूल समेत पढाईन् । कामले काम सिकाउछ व्यवसायले व्यवसाय सिकाउछ भने झै उनले सुगुरका पाठा पालनबाट थालेको व्यवसाय अहिले मसला पिस्ने मेसिन संचालनसम्म पुगेको छ ।
मन लगायो भने थोरै ऋण लिएर पनि राम्रो उद्योग व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण बनेकी दिलकुमारीले पछिल्लो पटक सहकारीबाट ७० हजार ऋण लिएर मसला पिस्ने मेसिन संचालन गरेकी हुन् । मसला पिस्ने मिल राखेपछि अहिले उनि मसलासंगै बेसार,खोर्सानीको धुलो लगायतको व्यपार पनि गर्न थालेकी छन् । व्यवसाय गर्दै अगाडी बढ्दा सुरुका दिनदेखि अहिलेसम्म महिला बचतले हौसला र प्रेरणा दिईरहेको उनले बताइन् ।
उनले भनिन् —‘यदि महिला बचत नपुगेको भए मेरो जीवन के हुन्थियो थाहा थिएन । मेरो लागि महिला बचत जीवनको साहारा नै हो ।’ उनले महिला बचतबाटै ऋण लिई मसला पिस्ने लघु उद्योग संचालन गरेर हालहासै घामपानीबाट बच्ने सानो घर पनि निर्माण गरेकी छन् । उनले छोरा र छोरीलाई क्याम्पस पढाई सकेकी छन् । अहिले दुवै छोरा छोरीले कमाउन थालेका छन् । उनको जीवनमा पहिले जे जति दुःख गरेपनि अहिले सुःख भएको छ ।