```blade ``` Mahila | SACCOS
महिला साकोस • हाम्रो पहिचान

About Us

संस्थाको पृष्ठभूमि (परिचय)

महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता र समृद्ध समुदाय निर्माणका लागि संस्थाले अघि बढाउँदै आएको यात्रा, उद्देश्य र गतिविधिहरुको परिचय।

२०५५ स्थापना वर्ष
१०,०६९ कुल शेयर सदस्य
६ कारोबार सञ्चालन स्थान
७.५२ करोड+ शेयर पुँजी

संस्थाको पृष्ठभूमि

Institutional Background & Introduction

समुदायका महिलाहरुको चौतर्फी विकास र सशक्तिकरणका लागि सहकारीको अवधारणा अनुसार महिलाहरुलाई बचत गर्ने बानीको विकास गराउँदै उत्पादनमूलक, सिपमूलक, व्यवसायमूलक र सामाजिक क्रियाकलापमा सहभागिता गराउन सकिने संस्थाको परिकल्पना स्वरुप केही महिला दिदीबहिनीहरुको नेतृत्वमा महिला बचत तथा ऋण सहकारी संस्था लि. इटहरी ४ को नामाकरणबाट यस संस्थाको स्थापना भएको हो ।

वि.सं. २०५५ साल असोज २२ गते बिहिबारका दिन तत्कालिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरी, इनरुवामा दर्ता नं. ०४।०५५।०५६ प्राप्त गरि इटहरी नगरपालिका वडा नं. ४, आइतबारे स्थित संस्थाको संस्थापक अध्यक्ष अमृता सुव्वाज्यूको घरको एउटा कोठामा पहिलो १ वर्ष निःशुल्क कार्यालय संचालन र ९ वटै वडालाई कार्यक्षेत्र बनाई एक जना कर्मचारीबाट संस्थाको कारोवार शुरु गरिएको हो ।

हाल कोशी प्रदेश, सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका वाड नं. ४, आइतबारे स्थित साढे १३ धुर क्षेत्रफलमा संस्थाको आफ्नै भूमि र २ तले भवनलाई संस्थाको कार्यालय बनाई इटहरी उपमहानरपालिकाका २० वटै वडा र सुन्दरहरैंचा नगरपालिका, मोरङको १२ वटै वडाहरु यस संस्थाको कार्यक्षेत्र रहेको छ । सदस्यहरुको माग, आवश्यकता, सेवा सुविधालाई मध्यनजर गर्दै संस्थाको कार्यालय सहित जम्मा ६ वटा स्थानबाट संस्थाको कारोवार संचालन गर्दै आइरहेको छ ।

संस्थाको मूल नारा
“बचत गर्ने बानी सुनौलो जिन्दगानी”

“बचत गर्ने बानी सुनौलो जिन्दगानी” भन्ने मूल नारालाई आत्मसात् गर्दै वि. सं. २०५५ सालमा ७५ जना शेयर सदस्यहरुबाट रु. १,००,०००।– शेयर पुँजी संकलन गरि संचालनमा आएको यो संस्थाले आ. व. २०७९।८० देखि “संमृद्घिको सारथी, महिला साकोस” भन्ने नारा तय गरि “संमृद्घ समुदाय दिगो विकास” को परिकल्पनालाई आगडि बढाउदै सहकारी ऐन अनुसार नै वि. सं. २०७६ सालमा बुढिगंगा बचत तथा ऋण सहकारी संस्था लि. सुन्दरहरैंचा ४, मोरङ र सकारात्मक कृषि सहकारी संस्था लि. सुन्दरहरैंचा ५, मोरङसँग संस्था एकीकरण कार्य सम्पन्न गरे पश्चात वि. सं. २०८३ असार मसान्तसम्म आइपुग्दा संस्थाको कुल शेयर सदस्य १००६९ जना र कुल शेयर पुँजी ७ करोड ५२ लाख ६ हजार १ सय रहेको छ ।

सहकारी सिद्धान्त तथा संस्थागत विकास

संस्था स्थापनाको समयदेखि नै संस्थाले सहकारीको अन्तर्राष्ट्रिय सिद्घान्त, मूल्य मान्यता, प्रचलित सहकारी ऐन, नियमावली, नियम कानुन र संयूक्त राष्ट्र संघले सन् २०१५ मा अघि सारेका दिगो विकास लक्ष्य (Sustainable Development Goals) का रणनीतिक एजेण्डा अनुरुप बचत तथा ऋणको साथमा विभिन्न सामाजिक सामुदायिक कार्यहरु गर्दै समाज, राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा संस्थाको पहिचान कायम गर्न सफल भएको छ ।

संस्थाले संस्थागत विकासका लागि वि. सं. २०६० सालदेखि नै एसियाली ऋण महासंघ (ACCU – Asian Confederation of Credit Unions) को प्राविधिक सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा संचालित संस्था स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थाको सबल र कमजोर पक्ष, अवसर र चुनौतीको विश्लेषण गरि नियमनकारी निकायले दिएको मार्गनिर्देशनको पालना र बचत तथा ऋण सहकारी संस्थाले पालना गर्नुपर्ने पल्र्स विश्लेषणका वित्तीय लक्ष्य, संस्थाका नीति तथा कार्यविधि, रणनीतिक योजना अनुसार संस्था निरन्तर अगाडि बढिरहेको छ । हाल संस्था पाचौं १० वर्षे रणनीतिक योजनाको कार्यान्वयनमा छ ।

ACCESS Branding कार्यक्रम

नेफ्स्कूनको प्रत्यक्ष निगरानीमा वि. संं २०६८ सालदेखि ACCESS (A1 Competitive Choice for Excellence in Service and Soundness) Branding कार्यक्रममा सहभागी भई वि. सं. २०७३ सालदेखि ब्रोन्ज तहको ब्राण्ड प्राप्त गर्न सफल भएका छौं जुन संस्था र सदस्यहरुका लागि गौरवको विषय हो । यद्यपि गुणस्तर सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिई ब्राण्ड प्राप्तिका लागि संस्था सदैव प्रयत्नशिल रहिरहेको छ ।

सामाजिक तथा सामुदायिक योगदान

स्थापनाकालादेखिनै संस्थाले सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष एकल तथा स्थानीय संघ संस्थासँग सहकार्य गरि वातावरण सम्बन्धी वृक्षारोपण, सरसफाई, डस्टविन वितरण, नदी नाला तथा जलाशय सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

वातावरण संरक्षण

वृक्षारोपण, सरसफाई, डस्टविन वितरण तथा नदी, नाला र जलाशय सरसफाई सम्बन्धी कार्यक्रम।

स्वास्थ्य तथा जनचेतना

रक्तदान, महिला हिंसा विरुद्ध अभियान, लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतना, स्वास्थ्य शिविर तथा औषधी वितरण।

शिक्षा तथा क्षमता विकास

उद्घोषण, भाषण, माइन्यूट लेखन, नेतृत्व विकास, सञ्चार सीप, सहकारी शिक्षा तथा वित्तीय साक्षरता।

सदस्य केन्द्रित कार्यक्रम

सदस्य भेटघाट, अन्तरक्रिया, भ्रमण, ज्येष्ठ सदस्य सम्मान तथा विभिन्न उत्प्रेरणामूलक कार्यक्रम।

त्यसैगरी रक्तदान, महिला हिंसा विरुद्घको अभियान, लागुपदार्थ दुव्र्यसनी विरुद्घ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम, युवा तथा महिला लक्षित स्वास्थ्य सम्बन्धी सचेतना, निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरणका साथै विभिन्न तालिम (उद्घोषण, भाषण, माइन्यूट लेखन, नेतृत्व विकास, सञ्चार सिप), सहकारी शिक्षा, वित्तीय साक्षरता, सहकारी व्यवस्थापन, कार्यालय व्यवस्थापन, समिति, उपसमिति तथा कर्मचारीहरुको क्षमता अभिवृद्घि सम्बन्धी तालिम तथा गोष्ठीको आयोजना गर्ने गरिएको र सोलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ ।

सदस्य हित तथा सम्मान कार्यक्रम

सदस्य भेटघाट, नवजात शिशु स्वागत तथा सुत्केरी भेटघाट, नवदुलही स्वागत, समवेदना तथा राहत सहयोग, सदस्य शिक्षा, अन्तरक्रिया तथा विस्तारित मञ्च, सहकारी शिक्षा तथा वित्तीय साक्षरता, सदस्य अवलोकन भ्रमण, बाल भ्रमण तथा उत्पे्ररणा कार्यक्रम, हाजिरीजवाफ, अन्तरक्रिया, गोष्ठी, ज्येष्ठ सदस्य सम्मान तथा धार्मिक ऐतिहासिक स्थल अवलोकन भ्रमण गराउने गरिएको छ ।

साथै सदस्य स्वयं तथा सदस्यका छोराछोरी, श्रीमान श्रीमतीले डाक्टर, इन्जिनियर, अधिवत्ता, सरकारी अधिकृत, स्नातकोत्तर प्रथम श्रेणी उत्र्तीण, विद्यावारिधि उत्र्तीण लगायतका अन्य विभिन्न विधामा सफलता हासिल गरेको भएमा संस्था स्थापना दिवसको अवसरमा सम्मान गर्ने गरिएको छ ।

संस्था, सदस्य र समुदायको हितका लागि आवश्यकता अनुसार विभिन्न योजनाहरु बनाएर हाल गरिआएका र थप कार्यक्रमहरु संचालन एवम् विस्तार गर्न संस्था सदैव अग्रसर रहेको छ ।

सुशासन, पारदर्शिता तथा सदस्य सुरक्षा

सुशासन एवम् सदस्य सुरक्षा कायम राख्न संस्थाले शेयर सदस्य तथा सरोकारवालाहरुको लागि संस्थाका सम्पूर्ण कार्यक्रम तथा गतिविधिहरुको सम्बन्धमा संस्थाको कार्यालय तथा सेवाकेन्द्रहरुमा सम्पर्क गरि जानकारी लिन सकिने व्यवस्था गरेको छ ।

साथै संस्थाले ब्रोसर, भित्तेपात्रो, वार्षिक प्रतिवेदन समय समयमा प्रकाशित गरिने स्मारिका, सदस्य बडापत्र, सूचना पाटी, वस्तु तथा सेवाको लागत शुल्क, ब्याजदर, मासिक वित्तीय विवरण प्रकाशन मार्फत संस्थाको वित्तीय अवस्था र सम्पूर्ण गतिविधिहरुको जानकारी गराउदै आएको छ ।

हाल उपलब्ध डिजिटल प्लाटफर्महरु फेसबुक पेज, फेसबुक म्यासेन्जर ग्रुप, वेबसाइट, युट्यूब आदि जस्ता संस्थाका आधिकारिक सोसल प्लाटफर्म मार्फत समेत सदस्य तथा सरोकारवाला व्यक्तिहरुलाई सूचित गराउदै आइरहेको छ ।

साथै सदस्यहरुलाई लागेका जिज्ञासा तथा सुझावका लागि संस्थाको कार्यालय र प्रत्येक सेवाकेन्द्रहरुमा सुझाव पेटिका र सुझाव पुस्तिकाको समेत व्यवस्था गरिएको छ ।

“संमृद्घिको सारथी, महिला साकोस”

संस्थाको हरेक गतिविधिहरुको बारेमा चासो राख्नु, जानकारी लिनु, सहभागी हुनु, उपयूक्त सरसल्लाह दिनु सबै शेयर सदस्यज्यूहरुको अधिकार, दायित्व र मूख्य कर्तव्य पनि हो । संस्था प्रति सदस्यहरुको पूर्ण विश्वास, अपनत्वको भावना, सहकार्य र समन्वय, इमान्दारिता र जवाफदेहिताबाट मात्र संस्था सुदृढ बन्न सक्छ । यो भावना सबैमा जागृत हुन जरुरी महशुस गराउँदै आगामी दिनहरुमा संस्थाको गरिमा अझ उच्च बनाउन संस्था प्रतिबद्ध छ ।